कोरोनाको दोस्रो लहरको असर वित्तीय प्रणालीमा, बैंकमा अधिक तरलता

Apr Wed 2021 08:05:42

850 views

कोरोनाको दोस्रो लहरको असर वित्तीय प्रणालीमा, बैंकमा अधिक तरलता

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बन्दै जाँदा त्यसको असर वित्तीय प्रणालीमा पनि देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह घटिनसके पनि नयाँ कर्जाको माग प्रभावित हुन थालेको बैंकरहरूले बताएका छन् ।

लगानीकर्ताले दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव आँकलन गरेर बसेकाले उत्साहित रूपमा नयाँ कर्जा माग नआएको उनीहरूको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार गत वैशाख २ मा अन्तर बैंक दर यो वर्षकै उच्च ४.६० प्रतिशत पुगेको थियो । चैत मसान्तमा राजस्वबापत ठूलो रकम सरकारी खातामा गएकाले बैंकमा तरलता कमी भई अन्तर बैंक दर बढेको हो । सोमबार अन्तर बैंक दर घटेर ३.७८ प्रतिशत कायम भएको छ । गत आइतबार र सोमबार एक्कासि सरकारी खर्च बढेकाले अन्तर बैक दर घटेको हो । अघिल्ला दिनमा दैनिक १ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म सरकारी खर्च (चालु खर्च) हुँदै आएकामा आइतबार ६ अर्ब ७९ करोड र सोमबार ८ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ ।

यही साता मात्र राष्ट्र बैंकले बजारबाट ३ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खरिद गरेको छ । उल्लिखित माध्यमबाट बजारमा मुद्रा आपूर्ति भएपछि तरलता सामान्य भएकाले अन्तर बैंक दर पनि घटेको जानकारहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार सोमबारसम्म वित्तीय प्रणालीमा करिब ४४ अर्ब रुपैयाँ अधिक तरलता छ ।