कोभ्याक्सिन र कोभिशिल्ड भारतीय कोरोना खोप नयाँ भेरियन्टमा पनि प्रभावकारी

Apr Fri 2021 04:02:05

870 views

कोभ्याक्सिन र कोभिशिल्ड भारतीय कोरोना खोप नयाँ भेरियन्टमा पनि प्रभावकारी

काठमाडौं । भारतको मेडिकल नियमनकारी संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना भाइरस संक्रमण रोक्न अहिले दिइएको कोभ्याक्सिन र कोभिशिल्ड खोप नयाँ प्रकारमा पनि प्रभावकारी देखिएको बताएको छ ।

आईसीएमआरले खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको बताएको छ । आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट बचाउँछ । यद्यपि प्रतिरोधी क्षमता प्रत्येक डोज दिएको दुई सातापछि मात्र विकसित हुन शुरु हुन्छ र सबै मानिसमा एउटै समयमा भने विकास हुँदैन ।

भार्गवका अनुसार कोरोनाविरुद्धको कोभ्याक्सिन खोप लिने एक करोड १० लाख मानिसमध्ये ९३ लाख ५६ हजार ४३६ ले पहिलो डोज लिएका थिए । उनीहरुमध्ये सहभागीमध्ये ४ हजार २०८ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । दुवै डोज लिएका १७ लाख ३७ हजार १७८ मध्ये ६९५ जनामा मात्र कोरोनाको संक्रमण देखिएको थियो ।

भारतमा कोभिशिल्ड खोप लगाएका ११ करोड ६० लाख मानिसमध्ये १० करोड ३ लाख २ हजार ७४५ ले पहिलो डोज खोप लिएका थिए । उनीहरुमध्ये १७ हजार १४५ जनामा कोरोना संक्रमण देखिएको थियो । १ करोड ५० लाखले कोभिशिल्डको दुवै डोज लिएका थिए । उनीहरुमध्ये पाँच हजार १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

- एजेन्सीको सहयोगमा