खोपले कोरोना सङ्क्रमणको गम्भीर अवस्थामा पुग्नबाट मात्रै जोगाउँछ’

Apr Mon 2021 07:30:02

509 views

खोपले कोरोना सङ्क्रमणको  गम्भीर अवस्थामा पुग्नबाट मात्रै जोगाउँछ’

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए पनि फाइदा नहुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले अनिवार्य रूपमा खोपका दुवै मात्रा लगाएको हुनुपर्ने, खोप लगाएको छ महिना मात्रै काम गर्ने र खोप तथा स्वास्थ्य मापदण्ड पालना दुवै एकसाथ भए मात्र कोरोना सङ्क्रमणबाट पूर्ण रूपमा बच्न सकिने स्वास्थ्यविद्हरूले बताउँदै आएका छन् ।

कोभिसिल्ड खोपको हकमा दुवै मात्रा लगाएपछि ७० प्रतिशत सुरक्षा दिन्छ, त्यसैले खोप लगाएपछि जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ ।

ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले भने, “खोपको मात्रा पूरा गर्नुपर्छ र जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ । तब मात्र कोभिड–१९ विरुद्धको यो खोपले सुरक्षा दिन सक्छ ।” कोभिसिल्डले बढीमा छ महिनासम्म सुरक्षा दिन सक्ने जानकारी दिँदै डा. पुनले थपे, “भाइरसको परिवर्तित स्वरूपका कारण कोभिडविरुद्धको यो खोपले काम गर्ने÷नगर्नेमा विश्वस्त हुने अवस्था छैन । त्यसैले खोप लगाएपछि ढुक्क भएर बस्नु हुँदैन ।”

अहिले कोरोनाका नयाँ–नयाँ ‘भेरिएन्ट’ विकास भइरहेको अवस्थामा अहिले प्रयोग भइरहेका खोपको प्रभावकारिता पुष्टि हुन बाँकी नै रहेको चर्चा गर्दै उहाँले खोप लगाएँ भनेर ढुक्क भएर नहिँड्न आग्रह गरे । खोप लगाएको ठ्याक्कै कति समयपछि शरीरमा यसले काम गर्न थाल्छ भन्ने यकिन जानकारी आउन पनि बाँकी छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसको सङ्क्रमण भएर निको भएकालाई पनि फेरि सङ्क्रमण हुन सक्ने भएकाले कोरोनाविरुद्धको खोप लगाउन सुझाव दिएको छ ।