May Sat 2021 04:42:08
काठमाडौं । मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ । त्यसो त १३१औँ श्रमिक दिवसमा पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम गरिएको थिएन । नेपालमा यो वर्षको दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक सुरक्षा लागू गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।
अघिल्लो वर्ष कोरोनाको कहरले देशमा लामो समय जारी बन्दाबन्दीमा सबैभन्दा बढी समस्यामा श्रमिक परेका थिए । नेपालमा मात्र होइन, संसारभरि नै । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार गत वर्ष कोरोनाका कारण नेपालमा हरेक पाँच जनामा दुई जनाले रोजगारी गुमाएका थिए । ती रोजगारी गुमाएकाले भर्खर रोजगारी पाएको बेला कोरोनाको अर्को भेरियन्ट आएर त्यही रोजगारी पनि खोसिने हो कि रु भन्ने चिन्ता श्रमिकसमक्ष पुनः उत्पन्न भएको छ ।
भर्खर मात्रै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी)ले कोरोना महामारीका कारण सन् २०२१ मा स्वदेश र विदेश गरेर प्रत्यक्ष रूपमा सातरआठ लाखले रोजगारी गुमाउने अवस्था आउने प्रक्षेपण सार्वजनिक गरेको छ । आईटीयूसीले यस अवधिमा विश्वमा एक करोड ३० लाखले रोजगारी गुमाउने प्रक्षेपण गर्दै नेपाल जस्ता श्रमिक निर्यात गर्ने देश अझै बढी प्रभावित हुने भएकाले श्रमिकको रोजगारी सुरक्षाका लागि ट्रेड युनियनलाई सतर्क रहनसमेत आग्रह गरेको छ ।