अबदेखि निषेधाज्ञा पालना नगरे १ वर्ष कैद, ५ लाख जरिवाना, मास्क नलगाए पनि जरिवाना

May Mon 2021 08:25:35

682 views

अबदेखि निषेधाज्ञा पालना नगरे १ वर्ष कैद, ५ लाख जरिवाना, मास्क नलगाए पनि जरिवाना

काठमाडौं। राष्ट्रपतिले ४ दिनअघि मात्रै जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश’को पालना नगरे १ वर्ष कैद र ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंmे आज एक सूचना जारी गर्दै यो अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध गर्नेलाई सजाय हुन सक्ने जानकारी दिएको हो ।

सूचनामा अध्यादेशअनुसार जारी गरिएका मापदण्डको समेत पालना गर्नुपर्ने र निर्धारित मापदण्डको पालना नगर्नेलाई ६ महिनासम्म कैद र तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने समेत उल्लेख छ । अध्यादेशबमोजिम जारी गरिएका आदेशहरु समेत पालना गर्नुपर्नेछ । आदेश पालना नगर्ने व्यक्ति भएमा एकलाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । यदि संस्थाले आदेश पालना नगरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्नेछ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।

त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने समेत सूचनामा जनाइएको छ । अध्यादेशको उल्लंघन गर्ने संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनाको लागि सम्म बन्द गर्न आदेश दिन सक्ने समेत जनाइएको छ ।