अमेरिकाले कोरोनाको उत्पत्ति रहस्य पत्ता लगायो

May Wed 2021 11:32:37

488 views

अमेरिकाले कोरोनाको उत्पत्ति रहस्य  पत्ता लगायो

काठमाडौं । कोरोना भाइरसको उत्पत्ति चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ। चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु भएको मानिएको मितिभन्दा एक महिनाअगाडि अर्थात् नोभेम्बरमा वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको एक प्रयोगशालाका अनुसन्धानकर्ताहरू बिरामी भएको र अस्पतालमा उपचार भएको दाबी गरेको छ।

यो दाबीसँगै प्रयोगशालाबाट भाइरस बाहिर निस्केको सम्भावना देखिएकाले तथ्य पत्ता लगाउन स्वतन्त्र अध्ययन हुनुपर्ने आवाजलाई थप बल मिलेकोे छ। कोरोना भाइरस प्राकृतिक हिसाबले नभई प्रयोगशालाबाट उत्पत्ति भएको यसअघि केही विज्ञले बताउँदै आएका थिए। यो प्रतिवेदन सार्वजनिक भएपछि यो विषयको चर्चा उत्सर्गमा छ।

अमेरिकी दैनिक वालस्ट्रिट जर्नलले यसअघि सार्वजनिक नभएको अमेरिकी खुफिया एजेन्सीको एक प्रतिवेदनले वुहानस्थित एक प्रयोगशालाका तीनजना अनुसन्धानकर्ता नोभेम्बरमा नै बिरामी परेको र अस्पतालमा उपचार गरेको देखिएको समाचार सार्वजनिक गरेपछि यो विषयले फेरि विश्वव्यापी चर्चा पाएको हो। 

जर्नलले उक्त प्रतिवेदन यसअघिको डोनाल्ड ट्रम्पको प्रशासनद्वारा सार्वजनिक स्टेट डेपार्टमेन्ट फ्याक्ट सिटमा समावेश गरिएको तथ्यभन्दा फरक र विस्तृत भएको जनाएको छ।