उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या घट्यो, निषेधाज्ञा खुकुलो पार्ने तयारि

May Sun 2021 12:09:05

769 views

उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या घट्यो,  निषेधाज्ञा खुकुलो पार्ने तयारि

उपत्यकामा कोरोना संक्रमितको संख्या घटेसँगै राजधानीमा कोरोना संक्रमितको उपचार गरिरहेको मुख्य सरकारी अस्पतालमा शैया खाली हुन थालेको छ । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन सहितका शैया तथा आइसीयू पनि खाली भएका छन् । त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा.रामविक्रम अधिकारीका अनुसार विगत तीन दिनदेखि अस्पतालको आकश्मिक कक्षामा आएका कुनै विरामी फिर्ता पनि नगरिएको र भर्नाका लागि नपर्खाइएको बताए ।

शिक्षण अस्पतालमा रहेका ५२ वटा आईसीयू बेड मध्ये पाँचवटा खाली रहेको बताउँदै कोभिडका विरामीका लागि शैया र अक्सिजन पर्याप्त रहेको बताए । उनले झण्डै ३० फिट लामो अक्सिजन ट्याङ्क हालै जाडान भएको र यसले अक्सिजनको माग लगभग धान्ने बताए । यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.अनुप बाँस्तोलाका अनुसार केही विरामी भेन्टिलेटरमा र केही गम्भीर अबस्थाका विरामी अझै अस्पतालमा भए पनि विरामीको चाप भने घट्दै गएको बताए ।

उपत्यकामा संक्रमित संख्या एक हजार ९३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो संगै पछिल्लो तथ्याकंले संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको एक महिनामा अब महामारी विस्तारै घट्दै गएको देखिएको छ । करिब एक महिना अघि लागू गरेको निषेधाज्ञा अब जेठ २० गतेसम्मका लागि जारी छ ।

महामारीको चेन ब्रेक गर्नका लागि निषेधाज्ञा लागू गरिएको हो । यो पूर्ण रुपमा कहिले हट्छ त्यसवारे केही जानकारी छैन । तर सकारात्मक संकेत देखिएसंगै अब निषेधाज्ञा पनि सहज बनाउँदै जाने विषयमा सरोकारवालाबीच छलफल थालिएको छ । समयमै निषेधाज्ञा गरेका कारण उपत्यकामा ठूलो क्षति रोकिएको प्रमुख जिल्ला अधिकारीहरुको निष्कर्ष छ । एक साताअघिसम्म उपत्यकामा संक्रमित हुनेको दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली बताउँछन् ।

तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअहरु सहमत भएको उनले बताएका छन् । जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।

त्यस्तै विज्ञहरूले संक्रमण दर घटिरहेकाले लकडाउनलाई विस्तारै खुकुलो पार्दै लैजान सकिने सुझाएका छन्। भाइरोलोजिष्ट तथा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डेले संक्रमण दर बिस्तारै घट्दै गएकाले अन्य आवश्यक कदम कार्यान्वयन गरी निषेधाज्ञालाई बिस्तारै खुकुलो पार्न सकिने बताए।  पाण्डेका अनुसार निषेधाज्ञाले संक्रमणको ‘चेन ब्रेक’ गराउन ठूलो मद्दत पुग्ने भए पनि त्यसका लागि अन्य विधि पनि रहेको जनाए।