Jun Mon 2021 02:12:12
1079 views
कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता नगर्न चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका हुन् ।
नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा.जेपी जैसवालकाअनुसार पछिल्लो समय नेपालमा पोस्ट कोभिड अर्थात कोभिडपछिको समस्या विकराल बन्दै गएको छ । कोभिड संक्रमणबाट मुक्त भएपछि पनि विभिन्न समस्या देखापर्ने र ती समस्यालाई बेवास्ता गर्दा ज्यानै जानेहरुको संख्या समेत बढ्न थालेको बताएका छन् । यस्तो अवस्थामा कोभिड संक्रमणबाट मुक्त भएपछि देखिने समस्याहरुको समयमै निदान अत्यावश्यक हुने डा.जैसवालले बताए ।
के–के हुन् लक्षण ?
डा. जैसवालका अनुसार कोभिड संक्रमणबाट मुक्त भएको चारहप्ताको अवधिमा केही लक्षणहरु देखिए त्यसलाई ‘पोस्ट कोभिड सिन्ड्रोम’ भएको ठान्नुपर्छ । अर्थात कोभिड ठीक भएपछि अस्पतालबाट डिस्चार्ज भएको वा क्वारेन्टिनबाट निस्किएको ४ हप्ताको अवधिमा स्वास्थ्यमा विभिन्न समस्या देखिए सचेत हुनुपर्ने उनको सुझाव छ ।
डा. जैसवालकाअनुसार थोरै समय हिँड्दा नै स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने, धेरै नै थकाई लाग्ने र कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षण देखा पर्ने जस्ता लक्षणहरु देखा पर्न थाले भने तत्काल अस्पताल जानुपर्ने हुन्छ ।
ज्यानै जानसक्छ ?
डा. जैसवालकाअनुसार यस्ता लक्षणहरुप्रति बेवास्ता गरिए बिरामीको ज्यानै जानसक्छ । कोभिड ठीक भएपछि पनि कतिपयको मुटुमा रगतका थक्काहरु जमेर हृदयघात हुने समस्या देखिएको छ ।
यस्तै, जसलाई थोरै हिँड्दा नै स्वाँ स्वाँ हुन्छ, त्यस्ताको समेत हार्ट फेलियर हुने समस्या देखिएको छ । कतिपयलाई क्षारे रोगको जस्तो लक्षण तथा समस्या पनि देखिनसक्छ । त्यस्तै, कतिपयलाई पार्किन्सन्स हुँदाको लक्षण पनि देखिनसक्ने र यस्ता लक्षणहरुले ब्रेनमा समेत दीर्घकालीन समस्या ल्याइदिनसक्छ ।
डा. जैसवालका अनुसार कोभिडको उपचारका लागि धेरै दिनसम्म आइसियू र सिसीयूमा बसेर बाहिर निस्किएकाहरुलाई ट्रमाबाट निस्किएजस्तो समस्या देखिने गरेको छ । यस्ता समस्यालाई पनि बेवास्ता गर्नुहुन्न । यस्तो समस्या बढ्दै गए स्ट्रोक र प्यारालाइसिस हुनेसम्मका खतरा हुन्छन् ।