सेयर बजार एकैदिन ६३ अंकले घट्यो, बजार घट्नुको मुख्य कारण यस्तो छ

Jun Sun 2021 10:55:29

699 views

सेयर बजार एकैदिन ६३ अंकले घट्यो, बजार घट्नुको मुख्य कारण यस्तो छ

काठमाडौं। सेयर बजारमा आइतबार ६३ अंकको गिरावट आएको छ।धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर लगानी जोखिमयुक्त रहेको भन्दै रेडलिष्ट निकालेपछि ५२ अंक मात्रै घटेको बजार आइतबार भने थप ६३ अंकले घटेको हो।

तीन हजार अंक माथि पुगेको बजारमा लामो समय सम्म करेक्सन नआएकोले अहिलेको करेक्सनले बजार थप मजबुत भएको एकथरी लगानीकर्ताको भनाई छ। तर अर्को थरी लगानीकर्ता भने बैंकिङ क्षेत्रमा तरलता अभाव चुलिएपछि त्यसको असर सेयर बजारमा देखिएको बताउँछन्।

बोर्डको रेड लिस्टकै कारण बजार घटिरहेको इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए। बोर्डको काम सहि भएपनि नामै तोकेर रेडलिष्ट सार्वजनिक गर्दा अहिलेको समस्या देखिएको हो। बोर्डले बजारलाइ नियमन गर्नुपर्नेमा नियन्त्रण गर्न खोजेको उनले आरोप लगाए।

बजारलाई बलियो बनाउन र लगानीकर्ताको आत्मबल बढाउन बोर्डले रेडलिष्ट फिर्ता लिएर आत्मालोचना गर्नुपर्ने पनि रौनियारको भनाई छ।आइतबार नेप्से सूचक ६३ अंकले घटेर २९०५  बिन्दुमा रोकिएको छ। एक समय ८६ अंक सम्म घटिसकेको बजार अन्तिम ५ मिनेटमा केही सम्हालिएपछि ठूलो अंकको गिरावटबाट जोगिएको हो।

कारोबारमा आएका ५ कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य घटेको छ। दिनभर नेगेटिभ सर्किटमा कारोबार भइरहेको गुर्खाज फाइनान्सको सेयर मूल्य अन्तिममा सर्वाधिक मूल्य बढेर बन्द भएको छ।

कम्पनीको सेयर मूल्य ५ प्रतिशतले बढेको छ। नेशनल र रुरु हाइड्रोपावरको सेयर मूल्य ३र३ प्रतिशतले बढ्दा तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य २ प्रतिशतले बढेको छ।


सर्वाधिक मूल्य घट्नेमा युनियन हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले घट्दा श्री इन्भेष्टमेन्ट कम्पनी, बरुण हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ८/८ प्रतिशतले घटेको छ।


सबै उपसमूह राताम्मे हुँदा जीवन बीमा समूहमा सर्वाधिक ३१० अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूहमा २८० अंकको गिरावट आउँदा विकास बैंक, हाइड्रोपावर र लघुवित्त समूहमा पनि १०० देखि १६५ अंक सम्मको गिरावट आएको छ।