बैंकका कर्मचारीलाई सात अर्बको बोनस व्यवस्था, कुन बैंकले कति बाँड्दैछन् ?

Jun Tue 2021 10:32:17

804 views

बैंकका कर्मचारीलाई  सात अर्बको बोनस व्यवस्था, कुन बैंकले कति बाँड्दैछन् ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई आठ अर्ब २१ करोड ९० लाख रुपियाँ बोनस दिन रकम छुट्याएका छन् । कर्मचारी बोनस प्रोभिजनअन्तर्गत वाणिज्य बैंकहरूको मात्रै सवा सात अर्ब प्रोभिजन गरेका छन् भने एक अर्ब रुपियाँ विकास बैंक र वित्त कम्पनीहरूको रहेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको वैशाख २०७८ सम्मको तथ्यांकअनुसार वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीले आफ्ना कर्मचारीका लागि बोनसको प्रोभिजन गरेको हुन् । वैशाखसम्मको यस्तो कर्मचारी बोनस प्रोभिजनमा २७ मध्ये २४ वाणिज्य बैंकको मात्रै सात अर्ब २४ करोड ४९ लाख रुपियाँ छ । यस्तो रकम प्रोभिजन वाणिज्य बैंकको गत वर्ष २०७७ को वैशाखमा छ अर्ब ३३ करोड ४५ लाख रुपियाँ रहेको थियो । 

कर्मचारीलाई बोनस प्रोभिजन नगर्नेमा तीनवटा वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र सेन्चुरी बैंक छन् । यी तीन बैंकले गत वर्षको वैशाखमा सार्वजनिक गरिएको तथ्यांकमा पनि प्रोभिजन नगरी राष्ट्र बैंकलाई अन्य विवरण मात्रै पठाएको पाइएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार बैंकहरूले गरेको कर्मचारीका लागि बोनसको प्रावधान सम्बन्धित संस्थाले गर्ने नाफाका आधारमा थपघट हुन्छ । वैशाखसम्म नाफा गरेको संस्था जेठ र असारको तथ्यांक सार्वजनिक गर्दा घाटामा पनि जान सक्छन् । संस्थाले नाफा गरेर नाफा बाँड्न पाइन्छ भने घाटा हुनेको कम वा नराख्न पनि सक्छ । संस्थाले नाफा गरेको अवस्थामा भने बोनस ऐनले दिएको व्यवस्था अनुसार नाफा बाँड्न सक्ने हुन्छ ।