शेयर बजारको प्यानिक सेल सकियो ? अब बजार बढ्ने १२ आधारहरु यस्ता छन्

Jul Thu 2021 12:03:34

1018 views

शेयर बजारको प्यानिक सेल सकियो ?  अब बजार बढ्ने १२ आधारहरु यस्ता छन्

काठमाण्डौ ।नेपालको सेयर बजार असार महिना लागेयता निरन्तर ओरालो लागिरहेको छ। 

असार १६ गतेसम्मको तथ्यांक हेर्ने हो भने बजार २०० अंकभन्दा बढीले ओरालो लागिसकेको छ। यो अवधिसम्म भएका १२ कारोबार दिनमा ९ दिन बजार ओरालो लाग्यो भने ३ दिनमात्रै उकालो लागेको छ। 

गत जेठ ३१ गते बजार हालसम्मकै सर्वाधिक उचाइमा पुगेको थियो। यो दिन नेप्सेले ३०२५।८३ को विन्दु चुमेको थियो। तर त्यसपछि बजार निरन्तर ओरालो लाग्न थाल्यो। असार १६ गते नेप्से २८२३।८८ को विन्दुमा झर्यो।

बजार निरन्तर ओरालो लाग्न थालेपछि ठूला लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा बसेका छन् भने साना लगानीकर्ताहरु अब बजार के होला भने द्विविधामा परेका छन्। कतिपय बजार जानकारले थोरै समयमै बजार ठूलो फड्को मारेकोले बजारमा २००–३०० अंकको करेक्सन आउनु स्वाभाविक रहेको बताएका छन्। 

अब बजारमा प्यानिक सेल सकिएको नेपाल इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। ‘सेयर बजारमा मौद्रिक नीति तथा ब्याजदरको कारण देखाएर साना र सोझा लगानीकर्तालाई भ्रममा पारियो’, अब बजार सम्हालिएको छ। सबै विषय सकारात्मक छ। अब डराउनुपर्ने र आत्तिनुपर्ने कुनै कारण छैन।’ रौनियारले भने ।

विश्लेषक तथा जानकारहरुले बजार बढ्न सक्ने १२ आधार प्रस्तुत गरेका छन्। ती यस्ता छन्–

१. म्युचुअल फन्डहरुले असार १५ गतेसम्म प्रफिट बुक गरिसके। अब बजार छिरेर आक्रामक ढंगले कारोबारमा लाग्ने तयारी गरिरहेका छन्।

२. ब्याज तिर्ने ध्येयले समेत प्रफिट बुक भइसक्यो। अब लगानीकर्ताले ब्याज रकमको जोहो गरिसके। 

३।.कारोबार रकम कम भयो भन्नुको अर्थ सेलिङ प्रेसर छैन भन्ने हो। यसको अर्थ अब प्यानिक सेल नआउने अवस्था देखियो। यसले बजार बढ्छ भन्ने संकेत गर्दैछ।

४. ठूला लगानीकर्ता पनि बजार छिर्ने तरखरमा छन्।

५. सरकारले विकास खर्च धमाधम गरेसँगै बैंकिङ प्रणालीमा तरलता थुप्रिन थालेको छ। जसका कारण ब्याज बढ्न दिंदैन। यसले बजारमा सकारात्मक प्रभाव पार्छ।

६.अब असार २३–२४ गतेसम्ममा बजार बढेन वा बढाइएन भने ठूला लगानीकर्तालाई बैंकहरुबाट मार्जिन कल आउन थाल्छ। जुन ठूला लगानीकर्ता चाहँदैनन्।

७. मौद्रिक नीति निर्माणको अन्तिम अवस्थामा छ। यसपटकको मौद्रिक नीतिले बजारलाई प्रभावित पार्ने गरी कुनै नीति ल्याउँदैन। बरु उत्साहित गर्ने नीति नै ल्याउनेछ।

८.दैनिक कारोबार रकम २० अर्ब हुँदा सरकारले दैनिक रुपमा राम्रो राजश्व पाइरहेको थियो। कारोबार घटेसँगै त्यो राजश्व गुमेको छ। यही विषयलाई सम्बोधन गर्न नेप्सेको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्। उनी सेयर बजारप्रति निकै सकारात्मक छन्। 

९.राष्ट्र बैंकको मौद्रिक नीति लघुवित्तका लागि धेरै सुखद् हुनेछ। बैंक तथा वित्तीय संस्थाको हकमा पनि उत्साहप्रद हुने ठानिएको छ। यसले बजार बढाउनेछ। 

१०.बीमा समितिले पनि नीति तथा कार्यक्रम असार मसान्तभित्रै सार्वजनिक गर्छ। यो क्रममा उसले जीवन र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धिको नीति ल्याउँदैछ। जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब र निर्जीवन बीमाको अढाइ अर्ब बनाउने तयारी छ। यसले पनि बजार बढाउन सक्छ।

११.नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची निकालेपछि त्यसले बजारमा परेको नकारात्मक प्रभाव कम गर्न ५१ सहित सबै सूचीकृत कम्पनीको रिपोर्ट सार्वजनिक गर्ने र गल्ती सच्याउने तयारी थियो। तर, यसलाई छाडेर धितोपत्र बोर्ड अब वार्षिक नीति तथा कार्यक्रममार्फत बजारका माग सम्बोधनतर्फ लागेको छ। बोर्डको नीति तथा कार्यक्रमसमेत बजारका लागि उत्साहप्रद आउनसक्ने देखिन्छ। यसका कारण बजार अझै बढ्छ। 

१२.आर्थिक वर्षको अन्तसँगै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउँछन्। ती विवरणका आधारमा कुन कम्पनीले कति लाभांश दिनसक्छन् भनेर सहजै आँकलन गर्न सकिन्छ। यसले राम्रा लाभांश इतिहास र सामथ्र्य भएका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्नेछ र ती कम्पनी चलायमान भएसँगै त्यसले समग्र बजारलाई सकारात्मक गति दिनेछ।