Aug Wed 2021 07:17:35
1059 views
काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भएसँगै कर्मचारीको तलब लगायत सेवा सुविधाको बारेमा पनि सहमति भएको छ । दुवै बैंकको एकिकृत कारोबारपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरुको मासिक तलब र अन्य सेवा सुविधाहरु पनि बढ्ने भएको हो ।
प्राप्त जानकारी अनुसार पद एउटै भएका कर्मचारीको जुन बैंकको कर्मचारीको तलब बढी छ एकिकृत कारोबारपछि सोही तलबलाई आधार मानेर तलब सुविधा तोकिनेछ । दुई बैंकको एकिकृत कारोबारपछि विस्तारै तलब सुविधामा समानता ल्याउने स्रोतको भनाई छ ।
कुनै पनि बैंकका कर्मचारीले खाइपाई आएको तलब तथा सेवा सुविधा घट्ने छैन । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेका कर्मचारीहरुको पद जुन छ सोही पदमा नै कायम हुने किसिमले समायोजन गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।
हाल हिमालयन बैंकमा १ हजार र नेपाल इन्भेष्टमेन्ट बैंकमा १ हजार ४ सय जना कर्मचारी छन् । बैंकले एकिकृत कारोबार गरेपछि बन्ने हिमालन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकमा कुल २ हजार ४ सय जना कर्मचारी हुनेछन् ।
दुई बैंकबीच एकिकृत कारोबार भने असोजमा मात्रै हुने बताइएको छ । यसअघि असार मसान्तभित्रै एकिकृत कारोबार गर्ने किसिमले तयारी भइरहेको भएपनि अब असोजमा मात्रै एकिकृत कारोबार हुने भएको हो ।
मर्जरमा भएको सम्झौता अनुसार बैंकको संचालक समितिको अध्यक्षमा पृथ्वी बहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अशोक शमसेर राणा बन्नेछन् ।
मर्जरपछि हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३र३ जना संचालक नियुक्त हुने र नयाँ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति बनाउने समझदारी गरेको छ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । र, सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।