पाँच बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकले कति नाफा कमाए ?

Aug Fri 2021 08:58:21

690 views

पाँच बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकले कति नाफा कमाए ?

पाँच बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, मेगा बैंक र हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । 

हिमालयन बैंक लिमिटेडले रू. २ अर्ब ९९ करोड ८० लाख खुद नाफा गरेको छ ।  सार्वजनिक बैंकको वित्तिय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १५ दशमलव ९० प्रतिशतले खुद नाफा बृद्धि भएको हो । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा भने ६५ दशमलव ७४ प्रतिशत बढी रू. २ अर्ब १६ करोड ९८ लाखभन्दा बढी रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी रू. २८ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ रू. १८७ दशमलव ९४ रहेको छ । 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ५० दशमलव ६९ प्रतिशत बढी खुद नाफा गरेको छ ।  सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्ष रू. २ अर्ब ४२ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष रू. ३ अर्ब ६५ करोड १४ लाखभन्दा बढी यो नाफा गरेको हो । बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा साढे ४९ प्रतिशत बढी रू. ५ अर्ब २५ करोड ५१ लाखभन्दा बढी भएको छ ।

बैंकको वितरणयोग्य मुनाफा भने २०५ दशमलव ५५ प्रतिशत बढी रू. १ अर्ब ९९ करोड ३३ लाखभन्दा बढी कायम भएको छ । 

बैंकले गत वर्ष अघिल्लो वर्षभन्दा ५ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १६ दशमलव १५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू. ५ दशमलव ४५ रहेको छ ।

 एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ८२ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष बैंकको खुद नाफा २७ दशमलव ३४ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष बैंकले रू. १ अर्ब ६७ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  

बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ३६ करोड ४९ लाखभन्दा बढी रहेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य नाफा भने ४१ दशमलव ३५ प्रतिशत बृद्धि भएको हो । 

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ५४ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक भएको बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा ९ दशमलव २० प्रतिशत बढेको हो । अघिल्लो वर्ष बैंकको यो नाफा रू. १ अर्ब १२ करोड ७२ लाखभन्दा बढी रहेको थियो ।

अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ४१ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ३२ रहेको छ ।

मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ३० करोड २५ लाखभन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा गत वर्ष खुद नाफा ४५ दशमलव १६ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ५८ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ७१ र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव ११ रहेको छ ।