बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच मर्जर पक्का

Sep Tue 2021 04:24:33

645 views

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच मर्जर पक्का

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आइएमई बैंक बिच मर्जर गर्ने सम्बन्धमा सम्झौता नै भैसकेको खुलासा भएको छ। यी दुई बैंक बिच साउन २९ गते मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएको बैंक अफ काठमाण्डू सम्बद्ध स्रोतले जानकारी दिएको हो। 

ग्लोबल आइएमई बैंकका एक उच्च पदस्थ कर्मचारीले समेत सो कुरा स्वीकारे। उनले जानकारी दिए अनुसार ९० देखि ९५ को स्वाप रेसियो बिओकेले पाउने सहमति भएको छ। बिचमा मर्जर प्रक्रिया भाँडिने सम्भावनालाई मध्यनजर गर्दै यो कामलाई अति तीव्र गतिमा सम्पन्न गर्ने भन्ने समेत दुई बैंकका सच्न्चालक बिच सहमति भएको बुझिएको छ। 

बैंक स्रोतका अनुसार दुवै बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट अर्थात् पुस मसान्तसम्मको वित्तीय विवरण भने एउटै प्रकाशन गर्ने स्तरमा मर्जर प्रक्रिया अघि बढाउन तयार भएका हुन्। दुवै बैंकका महत्त्वपूर्ण सञ्चालकहरूबिच भएको पछिल्लो छलफलले मर्जरलाई मूर्त रूप दिने गरी आधार तयार  बनाएको हो। 

बैंक अफ काठमाण्डूले मर्जरको लागि मेगा बैंक, सनराइज बैंक र सिद्धार्थ बैकसँग पनि छलफल चलाइरहेको थियो भने ग्लोबल आइएमई पनि सर्वाधिक ठुलो बैंक बन्न उपयुक्त पार्टनरको खोजीमा थियो। यही क्रममा यी दुई बैंकहरु बिच एक आपसमा मर्ज गर्ने विषयमा पटक पटक भएको छलफलले मूर्त रूप लिएको हो।  

बीओकेसँग मर्ज गर्ने ग्लोबल आइएमइ बैंक नेपाल कै सबैभन्दा ठुलो वाणिज्य बैंक बन्ने छ । यसभन्दा पहिला करिब दुई वटा वाणिज्य बैंकहरु 'कमर्स एण्ड ट्रष्ट' र जनता बैंकलाई ग्लोबल आइएमइले आफूमा मर्ज गराइसकेको छ । त्यस अलावा ग्लोबल आइएमइ बैंकले करिब डेढ दर्जन अन्य साना बैंक तथा वित्तीय संस्थाहरू आफूमा गाभिसकेको छ ।