नेप्से अब २५०० को बिन्दु वरिपरि रहने यस्तो विश्लेषण

Sep Tue 2021 08:36:27

नेप्से अब २५०० को बिन्दु वरिपरि रहने यस्तो विश्लेषण

जब बजारमा नगद नै छैन भने शेयर बजारमा कहाँबाट लगानी हुने ?

बजार घट्नुमा मुख्य कारण भनेको असोज १ गते देखी लागु हुने गरी सबैजसो बैंकहरुले बढेको ब्याजदर पनि हो। अब शेयर बजारबाट पैसा झिकेर बरु तीन महिना भए पनि मुद्दती खातामा निक्षेप गर्ने र बजारलाई केही समय हेर्ने मानसिकता समेत बढेको देखिएको छ। बोलिंगर ब्यान्डका आधारमा प्राविधिक विश्लेषण गर्दा पनि हाल अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी पनि क्रमशः बढ्दै गएको देखिन्छ। यसले बजारमा उच्च उतारचढावको सङ्केत गर्छ भने लगानीकर्ता केही समय ‘पर्ख र हेर’ को अवस्थामा रहेको भन्ने देखाउँछ ।

प्राविधिक रूपमा नै हेर्दा गएका ५ दिनको कारोबारमा अढाई सय भन्दा बढी अङ्कले नेप्से परिसूचक घटेकोले बजारमा अल्पकालीन लगानीकर्ता कुनै पनि बेला हाबी हुन सक्ने देखिन्छ। यदि त्यस्तो भयो र अल्पकालीन लगानीकर्ताले घट्दो बजारमा लगानी गर्ने हो भन्ने मान्यतालाई समाते भने बजार थामिने सम्भावना भने देखिन्छ। प्राविधिक विश्लेषकहरुले बजार लगभग २६०० को विन्दुमा आएर हाल देखिएको अहिलेको करेक्सन सकिने सम्भावना रहेको बताइरहेका छन्। त्यसैले अहिले धेरै नै आत्तिएर बजारबाट बाहिरिने क्रम लगानीकर्ताले रोक्न सके चाँडै नै बजारले फेरी सकारात्मक गति समात्ने सम्भावना देखिन्छ। तर, धेरैले भन्ने गरेका छन्, बजार २५ सयको बिन्दु वरपर केही समय रहने छ। 

 बजारमा लगानी गरेका साना लगानीकर्ताको गतिविधिले पनि अब नेपालको शेयर बजारलाई प्रभावित पार्न थालेको छ।  उनीहरू धेरै जसो आसन्न चाडहरू दसैँ र तिहारको तयारीमा लाग्न थालेका छन्।  त्यसका लागि खर्चको जोहो गर्ने काममा लागेका त्यस्ता साना लगानीकर्ताले  बजारबाट पैसा झिक्ने क्रममा समेत बजारमा शेयर मूल्य घटेको देखिन्छ। यसरी बजारका आन्तरिक कारणले नै 'प्यानिक' बनेर बाहिरिने क्रममा रहेका साना लगानीकर्ताको कारण यस्तो ठुलो गिरावट आएको देखिन्छ। 

बजार घट्नुका अन्य आधारभूत पक्षहरू हेर्ने हो भने सरकारले पूर्णता पाउन सकेको छैन। जसले गर्दा स्थायित्व ग्रहण गर्न नसकेको अवस्था छ। 

बजेट पारित भए पनि अहिले नै बजारमा पैसा आउने लक्षण छैन। बैंकहरु तरलता अभावको चरम सङ्कटसँग जुधिरहेका छन्।  दुई दिनको सार्वजनिक बिदापछि सोमबार खुलेका बैंकहरुले एकै पटक ११ अर्ब ४४ करोड रुपैयाँ स्थायी सुविधा चलाएको अवस्था छ। त्यति मात्र होइन आफ्नो कारोबारमा सहजता थप्न बैंकहरुले एक अर्ब १७ करोड रुपैयाँ ओभरनाइट रिपो उठाएका छन्। उता अन्तर बैंक सापटी ब्याजदर नै सोमबार ४.९८ प्रतिशतसम्म पुगेको छ।