भर्न छुट्ला है ! साहस उर्जाको ७० लाख कित्ता आईपीओ निष्काशन, १० कित्ताभन्दा माथि कति भर्दा पर्ने

Sep Wed 2021 10:05:30

753 views

भर्न छुट्ला है ! साहस उर्जाको ७० लाख कित्ता आईपीओ निष्काशन, १० कित्ताभन्दा माथि कति भर्दा पर्ने

साहस उर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरिएको छ । सामुहिक लगानीकोष र कर्मचारीहरुलाई सुरक्षित गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले भर्न पाउनेछन् ।

उक्त आइपीओ छिटोमा असोज १० गतेसम्म बिक्री खुला रहनेछ । यदि पहिलो चरणमा माग बराबरको आवेदन नपरेमा ढिलोमा असोज २० गतेसम्म बिक्री खुला हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला ‘दुधकोशी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

जसमध्ये ७० प्रतिशत संस्थापक समुह र ३० प्रतिशत सर्वसाधारण समुहको हुनेछ । इक्रा नेपालले प्राथमिक शेयर निष्काशनका लागि गरेको रेटिङ अनुसार कम्पनीले मध्यम किसिमको जोखिमको संकेत गर्ने ‘इक्रा आइआर डबल बि’ प्राप्त गरेको छ ।