रिडी र रैराङले शुरु गरे एकिकृत कारोबार

Aug Mon 2022 01:41:56

348 views

रिडी र रैराङले शुरु गरे एकिकृत कारोबार

काठमाडौं । सूचीकृत कम्पनीहरूमध्ये जलविद्युत क्षेत्रकै पहिलो मर्जर प्रकृया रिडी हाइड्रोपावर कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पुरा गरेका छन् । यी दुई कम्पनीहरूले मर्जर प्रकृया पुरा गरी साउन २९ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । आइतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कम्पनीहरूबीच एकिकृत कारोबार सुरु भएको जानकारी गराईएको हो । 

यी दुई कम्पनीबीच गत कात्तिक १७ गते मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरका कारण दुबै कम्पनीको शेयर कारोबार कात्तिक २२ गतेदेखि रोक्का रहेको छ । मर्जर सम्झौता गरेको ९ महिनाभित्र कम्पनीहरूले एकिकृत कारोबार सुरु गरेका हुन । रैराङ हाइड्रोपावर लिमिटेडलाई रिडी हाइड्रोपावर कम्पनी लिमिटेडले गाभेको हो । यी दुई कम्पनी १ बराबर शून्य दशमलव ९३ को अनुपातमा शेयर आदानप्रदान गरी एक भएका हुन । 

यस आधारमा रैराङ हाइड्रोपावरको १०० कित्ता शेयर बराबर रिडी हाइड्रोपावरको ९३ कित्ता शेयर प्राप्त हुनेछ । रू. ५८ करोड ५५ लाख ५८ हजार चुक्तापूँजी रहेकोे रिडी हाइड्रोपावरले रू. ५६ करोड चुक्तापूँजी रहेका रैराङ हाइड्रोपावरलाई गाभेको हो । दुइ कम्पनी मर्ज पश्चात् बनेको कम्पनीको अधिकृत पूँजी रू. २ अर्ब ५० करोड र चुक्ता पूँजी रू. १ अर्ब १० करोड पुगेको कम्पनीको भनाई छ । मर्जर पश्चात् बनेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कुबेर मणी नेपाल र अध्यक्षमा गुरुप्रसाद न्यौपाने रहने जानकारी समेत कम्पनीले जानकारी दिएको छ ।