काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुको मुख्य आम्दानीको स्रोत भनेको कम ब्याजदरमा डिपोजिट उठाउने र बढि ब्याजदरमा कर्जा प्रवाह गर्ने र त्यसबीचको ब्याज रकममा नाफा आर्जन गर्ने हो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर ४.४ प्रतिशत हुनुपर्नेछ । त्यसलाई स्प्रडदर भनिन्छ ।
बैंकहरु ब्याजदर बढाउने उद्दश्यले आधारदर बढाउन बाध्य भएका छन् । अहिले बैंकहरुको आधारदर नै दोहोरो अंकमा छ । बैंकहरुले लगानीयोग्य रकम नपाइरहेको अवस्थामा ब्याज बढाएर निक्षेप संकलन गर्ने रणनीति पनि बनाइरहेका छन् । लगानी गर्नका लागि स्रोतको अभाव भएपछि बैंकहरुले विभिन्न बचतका योजनामा आकर्षक ब्याज दिएर पैसा संकलन गरिरहेका छन । यस्तो कसरतले गर्दा बैंकहरुको ब्याजदर थप महँगो भएको छ ।
नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार ब्याजदरसँग आवद्ध गर्नुपर्ने व्यवस्था गरेको छ । आधार दरमा केही निश्चित प्रिमियम तोकेर बैंकहरुले ऋण लगानी गर्छन् । बैंकहरुको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरुको आधार दर औसतमा ९.४६ प्रतिशत छ ।
अहिले आधा दर्जन वाणिज्य बैंकहरुको आधार दर १० % माथि छ । सनराइज, सिभिल, कुमारी, सेञ्चुरी, सिटिजन्स र मेगा बैंकको आधारदर १० % भन्दा बढी देखिएको छ । कुमारी बैंकको १०.५७ %, सिभिल १०.४६ %, सेञ्चुरी बैंकको १०.२३ %, सिटिजन्स बैंकको १०.०९ %, मेगाको १०.०१ % र सनराइज बैंकको १०.०१ % छ ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकहरुको औसत आधार दर ८.९९ प्रतिशत थियो । यो अवधिमा ४ वटा वाणिज्य बैंकको आधारदर ३ प्रतिशतले वृद्धि भएको छ । १३ वटा वाणिज्य बैंकका आधार दर ९ % को हाराहारीमा छ । ५ वाणिज्य बैंकहरुको आधारदर ८ प्रतिशत र दुइटा वाणिज्य बैंकको आधारदर ७ प्रतिशतको हाराहारीमा छ । अहिले सबैभन्दा कम आधारदर नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको छ ।
आधारदर बढेपछि बैंकहरुको कर्जामा दिने ब्याज पनि बढाउँछन् बैंकहरुले अधिकतम ५ % प्रिमियम लिँदै आएका छन् । अहिले १० प्रतिशत हाराहारीमा आधारदर भएका बैंकहरुको कर्जा १५ प्रतिशतसम्म हुन्छ । कम बेस रेट (आधारदर) भएका बैंकहरुको ब्याजदर कम र बढी हुनेको कर्जामा ब्याजदर बढि हुन्छ । त्यसैले कुनै पनि बैंकमार्फत कर्जाको कारोबार गर्दा उक्त बैंकको आधारदर हर्नुपर्ने हुन्छ । यसो गर्दा बैंकहरुको ब्याजदर मंहगो र सस्तो भन्ने छुट्टयाउन सजिलो हुन्छ ।