काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेले तिर्नुपर्ने आयकरको सीमा बढाइएको छ ।
सरकारले वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुने र सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेले आयकर तिर्नु नपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थापछि मासिक ३८ हजार ४ सय ६१ रुपैयाँसम्म तलब हुने कर्मचारीले आयकर तिर्नु पर्दैन । किनभने सरकारले आयकर गणना प्रयोजनको लागि एक वर्षलाई १३ महिना मान्छ ।
यसअघि वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी हुनेले कर छुट पाउने व्यवस्था गरिएको थियो । यो भनेको मासिक २३ हजार ७६ रुपैयाँसम्मको तलब भत्ता पाउनेले कर छुट पाउने अवस्था थियो ।
प्रधानमन्त्रीको सम्बोधनमा कर छुटको सीमा बढाइएको जानकारी प्राप्त भएको कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले जानकारी दिए । करको विषय भएकोले ऐनमा कुनै संशोधन जरुरी नभएको उनको भनाइ छ ।