निक्षेपको ब्याज घटाउदै बैंकहरु, न्युनतम १ देखि २ प्रतिशतसम्म घट्ने

Jun Mon 2020 07:21:27

934 views

निक्षेपको ब्याज घटाउदै बैंकहरु, न्युनतम १ देखि २ प्रतिशतसम्म घट्ने

बैंकहरुले साउन १ गतेबाट बचतको ब्याज दर घटाउने तयारी गरिरहेका छन्। लकडाउनअघिभन्दा अहिले ऋण रकम नै घटिरहेको छ। निक्षेप भने तुलनात्मक रूपमा उच्च दरले बढिरहेको छ। एकातिर ऋणको ब्याज घटाउने दबाब छ भने अर्कोतिर निक्षेपको लागत पनि कम गर्नु पर्ने छ। दोहोरो मारमा परेका बैंकरले साउन १ गतेबाट निक्षेपको ब्याज घटाउने तयारी गरेका हुन्। बैंकरबीच ब्याज घटाउने अनौपचारिक कुराकानी भइरहेको छ। यहीबीचमा एनआइसी एसिया बैंकले बचतको ब्याज आधा प्रतिशत बिन्दुले घटाइसकेको छ। 

पछिल्लो तथ्यांक अनुसार, चैत मसान्तदेखि जेठ ३० गतेसम्मको तथ्यांकअनुसार बैंकहरुको ऋण २९ अर्ब रुपैयाँले घटिसकेको छ। जबकी निक्षेप ८७ अर्ब रुपैयाँले बढेको छ।

निक्षेपको उच्च सुधार र घट्दो ऋणका कारण निक्षेप(ऋण सन्तुलनमा आएको छ। असार मसान्तदेखि जेठ ३० गतेसम्मको अवधिमा बैंकहरुको कुल निक्षेप ३ खर्ब ९८ अर्बले बढेको छ। ऋण भने ३ खर्ब १८ अर्बले बढेको छ। 

पछिल्लो तीन वर्ष बैंकहरुमा निक्षेपभन्दा ऋणको बिस्तार उच्च थियो। लकडाउनपछि बैंकमा निक्षेप बढिरहेको छ भने ऋण घटिरहेको छ ।

यसले गर्दा बैंकहरुको सीसीडी रेसियो औसत ७४ प्रतिशतमा झरेको छ। एकातिर स्रोत बढी भयो भने अर्कोतिर राष्ट्र बैंकले दुई वर्ष माथिको निक्षेपलाई सीसीडीबाट हटाएका कारण घटेको हो। अहिले उच्च सीसीडी दर ७७ प्रतिशत छ भने कम ६५ प्रतिशतसम्म झरेको छ। नियामकीय प्रावधान अनुसार ८० प्रतिशतभन्दा कम हुनु पर्छ। केही समयअघि बैंकहरुको सीसीडी ७९ प्रतिशतसम्म पुगेको थियो। राष्ट्र बैंकले बैशाखदेखि असारसम्म ऋणको ब्याज २ प्रतिशत घटाउन निर्देशन दिएपछि बैंकहरु निक्षेपको ब्याज घटाउन तयार भएका थिए। तर, गभर्नरले निक्षेपको ब्याज नघटाउन मौखिक निर्देशन दिएपछि बैंकहरु असारसम्म हच्किएका छन्। असारपछि भने बैंकहरुले निक्षेपको ब्याज दर घटाउने भएका छन्।

बैंकहरुले निक्षेपको ब्याज दर एकदेखि २ प्रतिशत बिन्दुसम्म घटाउने तयारीमा छन्। अहिले संस्थागत निक्षेपको अधिकतम ब्याज ७ प्रतिशत छ, ब्यक्तिगतको ८ ।७५ र बचतको साढे ५ प्रतिशत छ।