शेयर बजारमा हरियाली, सबै समूहमा उछाल आयो, नेप्से दोहोरो अंकले बृद्धि

Jul Thu 2020 06:31:51

1360 views

शेयर बजारमा हरियाली, सबै समूहमा उछाल आयो, नेप्से  दोहोरो अंकले बृद्धि

काठमाण्डौ । नयाँ वित्तीय वर्ष २०७७ श्रावण १ गते पहिलो दिन नै नेप्से परिसूचक दोहोरो अंकको भारी वृद्धि भई शेयर बजारमा उछाल आएको छ।

नेप्से परिसूूचक हिजोको तुलनामा ३२.४२ अंकले बढेर नेप्से परिसूूचक १३९४.७७ विन्दुको उचाइमा पुगेको छ। 

बैंकहरुको ऋण प्रवाहमा संकुचन आउँदा अत्याधिक तरलताकै कारण बचतको ब्याजदर अत्यन्तै न्यून विन्दुमा आउँदा सेयर बजार नै निर्विकल्प लगानीको क्षेत्र हुुँदै आइरहेको परिपाटीले पछिल्लो समय नेप्से परिसूूचक र अन्य सबै उपसमूूहमा सकारात्मक वृद्धि देखिएको हो।  बैंक र विकास बैंकका सेयरमा अत्याधिक लगानीकर्ताको खरिदचाप पर्दा ती उपसमूहमा उछाल आएको छ। 

जीवन बीमा समूहमा निकै चमक देखियो। यो समूहमा १३१.१५ अंकको उछाल आयो। 

त्यस्तै बैंकिङ समूहमा ४०.९९ अंक, व्यापार समूहमा १३.९१ अंक, होटेल्स् समूहमा १२.२६ अंक, विकास बैंक समूहमा ६०.०५ अंक, जलविद्युत् समूहमा ९.९२ अंक, वित्त समूहमा १६.८२ अंक, निर्जीवन बीमा समूहमा ७९.३७ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४५.५५ अंक, अन्य समूहमा ६.७९ अंक, लघुवित्त समूहमा ६.४८ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको बढोत्तरी देखिएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

नेप्सेमा सूचीकृतमध्ये १८० कम्पनीका २९ लाख १४ हजार ५१८ कित्ता सेयर १ अर्ब ४ करोड १७ लाख ७० हजार ८६७ रुपैयाँमा कारोबार भयो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनी र एनएमबी बैंकले उच्च कारोबार गरे। पुनर्बीमा कम्पनीको मात्र ९ करोड ४१ लाख रुपैयाँ र एनएमबी बैंकको ८ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भयो। 

यसैगरी एनआईसी एसिया बैंकको ५ करोड ६८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५८ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २ करोड ५१ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडको २ करोड ३३ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तको २ करोड २३ लाख रुपैयाँ, छिमेक लघुवित्तको २ करोड २१ लाख रुपैयाँ र शिवम् सिमेन्टको २ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र  गुमाउनेहरु

आज एनआईसी एसिया लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।

यस्तै मितेरी डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकको सेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ।