लगानीका लागि तयार रहनुहोस् : अबदेखि आइपीओ न्यूनतम ५० कित्ता पाउने नयाँ ब्यवस्था आउँदै

Aug Thu 2020 09:44:21

1819 views

लगानीका लागि तयार रहनुहोस् : अबदेखि आइपीओ न्यूनतम ५० कित्ता पाउने नयाँ ब्यवस्था आउँदै

काठमाडौं । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २५ग ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था लागू हुने भएको छ ।

  1. सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।
  2. सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुने छ ।

बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।

बुक बिल्डिङ विधिका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वचालित विद्युतीय बोल कबोल प्रणाली संचालन गर्नुपर्नेछ । नेप्सेले स्वचालित विद्युतीय बोलबोल प्रणाली संचालनमा नल्याएसम्म संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्न व्यवस्था बोर्डले गरेको छ ।

योग्य संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्ण रुपमा विक्री हुदाँ कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ । कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम बाँडफाँट भएको तीन कार्यदिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ । 

यस विधिबाट शेयर निष्कासन गर्दा सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सार्वजनिक निष्कास गर्नुपर्नेछ । सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुनेछ ।

प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने, निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ ।