बिद्यालय शिक्षाका लागि विश्व बैंकले नेपाल सरकारलाई सवा एक अर्ब अनुदान

Sep Sat 2020 01:24:34

बिद्यालय शिक्षाका लागि विश्व बैंकले नेपाल सरकारलाई सवा एक अर्ब अनुदान

विश्व बैंकले नेपालमा सिकाईको स्तर सुधार्न गर्नका लागि १ करोड २५ लाख अमेरिकी डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँ बराबरको अनुदान दिएको छ ।

सिकाईको स्तर सुधार गर्न तथा उत्थानशील शिक्षा क्षेत्रको निर्माणका लागि कोभिड–१९ संकटबीच उक्त अनुदान दिएको हो ।

शुक्रबार नेपाल सरकार र विश्व बैंकका बिचमा विद्यालय क्षेत्र विकास कार्यकमका लागि अनुदानमा हस्ताक्षर भयो । जसले कोभिड–१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाईमा निरन्तरता दिन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

‘विद्यालय क्षेत्र विकास कार्यकम’ मा विश्व बैंक समूह अन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनको १८५ मिलियन डलरु डलर कर्जा सहायतासहित एशियाली विकास बैंक, युरोपियन युनियन, फिनल्यान्ड, ग्लोवल पार्टनरसिप फर एजुकेशन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, युएसएआईडी, युनिसेफ र विश्व बैंकद्वारा प्रशासित रिज मल्टि डोनर ट्रस्ट कोषलगायतका निकायले सहयोग पुर्‍याइरहेका छन् ।

जीपीई कोभिड–१९ द्रुत कोष’ अन्तर्गत प्राप्त भएको यस थप अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड(१९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पुर्‍याउने छ ।

अनुदान सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।