बैंकहरुको मुद्दतिको निक्षेप ५० प्रतिशत भन्दा बढी

Sep Tue 2020 05:43:09

702 views

बैंकहरुको मुद्दतिको निक्षेप ५० प्रतिशत भन्दा बढी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेपमा मुद्दति निक्षेपको अंश ५० प्रतिशत नाघेको छ । पछिल्लो समय बढ्दो क्रममा रहेको कुल निक्षेपमा मुद्दतिको हिस्सा गत साउन महिनामा ५०.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार मुद्दति निक्षेपको हिस्सा पछिल्लो ४ वर्ष यताकै उच्च हो । मुद्दति पछि दोस्रोमा बचत निक्षेपको अंश धेरै रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेपमध्ये बचत निक्षेपको हिस्सा ३२.२ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

यसैगरी कुल निक्षेपमा चल्तीको हिस्सा ७।७ प्रतिशत रहेको छ भने अन्य निक्षेपको हिस्सा ९।५ प्रतिशत रहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने बचत निक्षेपको हिस्सा निरन्तर घटिरहेको छ । मुद्दतिको हिस्सा भनेर निरन्तर बढिरहेको छ । 

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार २०७३ असारमसान्तमा कुल निक्षेपमा बचतको हिस्सा ४३.३ प्रतिशत रहेको थियो । २०७४ असारमा घटेर ३५.४ र २०७५ मा घटेर ३४.४ प्रतिशत कायम भयो । बचतको हिस्सा कम हुने क्रम रोकिएन । २०७६ असार मसान्तमा घटेर ३२.८ प्रतिशतमा रहेको बचतको हिस्सा २०७७ असार मसान्तमा आइपुग्दा घटेर ३१.९ मा पुगेको छ ।

बचत निक्षेपको घट्ने क्रममा भए पनि मुद्दति निक्षेपको ५ वर्षदेखि नै बढ्ने क्रममा छ । कुल निक्षेपमा मुद्दतिको हिस्सा २०७३ असार मसान्तमा ३०.५ प्रतिशत रहेकोमा २०७४ मा बढेर ४३.२ प्रतिशत पुग्यो । २०७५ असार मसान्तमा ४४.८, २०७६ असारमा ४६.३, २०७७ असारमा ४८ प्रतिशत हुँदै साउनमा ५०.६ प्रतिशत पुगेको छ ।

यहाँ चल्तीको हिस्सा भने २०७४ मा ८.७, २०७५ मा ९.३, २०७६ मा ९.७ हुँदै २०७७ असार मसान्तमा १० प्रतिशत पुगेको छ । यसबाहेकका अन्य निक्षेपको हिस्सा २०७४ मा १२.७ प्रतिशत हरेकोमा यो घटेर २०७७ साउन मसान्तमा ९.५ प्रतिशतमा झरेको छ ।