Oct Tue 2020 03:34:42
१५ कम्पनीको आईपीओ आउँदै
विभिन्न क्षेत्रका १५ कम्पनीको आईपीओ आउँदै छ । सेयर निष्कासन अनुमतिका लागि १४ कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
(सानिमा जनरल इन्स्योरेन्स) ले भने सेयर निष्कासन प्रक्रिया नै सुरु गरिसकेको छ । यो कम्पनीले आउँदो बुधबार (असोज २१) देखि सेयरका लागि आवेदन संकलन गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँका दरले ३० लाख कित्ता (३० करोड रुपैयाँ बराबरको) सेयर निष्कासन गर्न लागेको छ ।
बाँकी १४ कम्पनीले बोर्डबाट अनुमति पाएपछि सेयर निष्कासन गर्नेछन् । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १४ कम्पनीले ३ अर्ब ८५ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८४ लाख ७३ हजार कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।
सेयर निष्कासनका क्रममा रहेका कम्पनीमध्ये १० वटा जलविद्युत् समूह, ३ वटा अन्य समूह र एउटा मर्चेन्ट बैंकिङ समूहका कम्पनी हुन् । हिमालयन हाइड्रोपावर लिमिटेड, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु लघुजलविद्युत् परियोजना, शुभम् पावर लिमिटेड, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी, मैलुङ खोला जलविद्युत्, सिँगटी हाइड्रो इनर्जी, मैलुङ खोला जलविद्युत्, मध्यभोटेकोसी जलविद्युत् कम्पनीले सेयर निष्कासन बोर्डमा आवेदन दिएका छन् ।
सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल र चन्द्रागिरि हिल्स् छन् । मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ ।