यसकारण जलविद्युत् कम्पनीका शेयरमा उछाल, महिना दिनमै ३ सय अंकले बढ्यो, अझै शेयर मूल्य बढ्ने

Oct Tue 2020 06:21:09

1344 views

यसकारण जलविद्युत् कम्पनीका शेयरमा उछाल, महिना दिनमै ३ सय अंकले बढ्यो,  अझै शेयर मूल्य बढ्ने

काठमाडौं ।

अहिले सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि सस्तो ब्याजमा लगानी गर्नुका साथै सेयर लगानीकर्ताले समेत सस्तो ब्याजमा लगानी गर्न पाएका छन् । जलविद्युत् आयोजनालाई दिने भनेको सहुलियत अर्थात् ५० लाखको प्याकेजसमेत सरकारले दिने प्रतिबद्धता गरेको छ । जुन केहीले पाइसकेका  छन् ।  यसले गर्दा लगानीकर्ताहरु जलबिद्युत क्षेत्रको  शेयरमा लगानी गर्न अकार्षित भएका छन् । 

दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेको जलविद्युत् कम्पनीका सेयरमा अहिले लगानीकर्ताको आकर्षण बढ्न थालेको छ ।

बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् । एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो । गत ६ सेप्टेम्बरमा १ हजार ७६ दशमलव ४८ अंकमा रहेको उपसूचक २९५ अंकले बढेर ६ अक्टुबरमा १ हजार ३७१ दशमलव ३० मा पुगेको छ । बढी मूल्य भएकाहरूको पनि अन्य समूहका कम्पनीको भन्दा तुलनात्मक रूपमा कम छ । यही कारण लगानीकर्ताको आकर्षण जलविद्युत् क्षेत्रमा बढेको हो ।

दुई महिनाअघिसम्म दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १८ वटा जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर सय रुपैयाँमाथि नै कारोबार भइरहेका छन् ।

एक महिनाअघि ११ वटा कम्पनीको सेयर मूल्य यसभन्दा निकै तल रहेका थिए । हाल यी सबै कम्पनीको सेयर मूल्य सयभन्दा माथि रहेका छन् ।

अंकित मूल्यभन्दा कममै दोस्रो बजारमै सेयर पाउन थालेपछि लगानीकर्ता जलविद्युत् कम्पनीको सेयर खरिद गर्नेतर्फ लागेका छन् ।

हाल १४ वटा कम्पनीको सेयर मूल्य दुई सयभन्दा माथि र बाँकी कम्पनीको सेयर सय रुपैयाँभन्दा माथि रहेका छन् । जसमध्ये चिलिमे हाइड्रोपावर कम्पनीको सेयर ५ सयभन्दा माथिको मूल्य कारोबार भइरहेको छ । त्यस्तै बुटवल पावर कम्पनीको ४१३ र सानिमामाई हाइड्रोपावर कम्पनीको ३१९ मा कारोबार भइरहेका छन् ।