बैंकिङ समूहको सेयरमा उछाल, कुन बैंकको सेयर कति बढ्यो ? (सूचीसहित)

Nov Fri 2020 08:01:42

984 views

बैंकिङ समूहको सेयरमा उछाल,   कुन बैंकको  सेयर कति बढ्यो ? (सूचीसहित)

चार वर्षअघिको अलटाइम हाई १८८१.४५ को विन्दुलाई ब्रेक गर्दै हिजो बिहीबार १८.४३ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १८९३.२४ को विन्दुमा उक्लिएको छ। बुलिस बजारमा हिजो बैंकिङ समूहको उपसूचकमा ३७.७६ अंकको उछाल आएको आयो। 

एक साताको अवधिमा सबैभन्दा बढी नबिल बैंकका सेयरधनीहरुले कमाएका छन्। यो बैंकको सेयरमा गत बिहीबारको तुलनामा हिजो बिहीबारसम्म प्रतिकित्ता २२५ रुपैयाँ बढेर १ हजार १३० रुपैयाँ कायम भएको छ। गत बिहीबार नबिलको सेयरमूल्य ९०५ रुपैयाँमा सीमित थियो।

प्राइम कमर्सियल बैंकको सेयरमूल्य एक सातामै ४९ रुपैयाँले बढेर ३९८ रुपैयाँ पुगेको छ। गत साता बिहीबार यो बैंकको सेयरमूल्य ३४९ रुपैयाँ थियो।  

यसैगरी गत साताको तुलनामा प्रभु र एभरेस्ट बैंकको सेयरमूल्य पनि ४७ रुपैयाँले बढेको छ। गत बिहीबार २९८ रुपैयाँ रहेको प्रभुको सेयर बढेर ३४५ पुगेको छ भने ६५२ रुपैयाँ रहेको एभरेस्टको मूल्य बढेर ६९९ पुगेको छ। 

कुमारी बैंकको सेयर पनि यो साता ३७ रुपैयाँले बढेर २७६ रुपैयाँ कायम भएको छ। गत साता बिहीबार यो बैंकको सेयर प्रतिकित्ता २३९ रुपैयाँ कायम भएको थियो। 

यो साताभरि कृषि विकास बैंकको सेयर ३६ रुपैयाँले उकालो लाग्दै ५२५ रुपैयाँ कायम भएको छ। गत साता बिहीबार यो बैंकको सेयर ४९१ रुपैयाँ कायम भएको थियो। 

गत साताको तुलनामा यो साता सिटिजन्स बैंकको सेयरमूल्य स्थिर रहेको छ भने सनराइज बैंकको सेयर १ रुपैयाँले बढेको छ। 

गत साताको तुलनामा यो साता अन्य सबै बैंकको सेयरमूल्य बढ्दा एनआईसी एसिया बैंकको भने ४६ रुपैयाँले घटेको देखिएको छ। तर बैंक गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १९ प्रतिशत सेयरका लागि मूल्य समायोजन गर्दा यो बैंकको सेयरमूल्य घटेको हो।