सामाजिक सुरक्षा कोषले घर किन्न ७५ लाख र पढ्न ३५ लाख सापटी दिने

Dec Sat 2020 06:29:38

710 views

सामाजिक सुरक्षा कोषले घर किन्न ७५ लाख र पढ्न ३५ लाख सापटी दिने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले विभिन्न क्षेत्रलाई समेटेर योगदानकर्ताहरुका लागि सापटी सुविधाहरु अघि सारेको छ । योगदानकर्ता सापटी अन्तर्गत योगदान रकमको आधारमा समितिले तोकेको मापदण्ड अनुसार योगदानकर्ता विशेष सापटी, धितोमा आधारित घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य गरी चार शीर्षकमा सापटी लिन सक्ने कोषले जनाएको छ ।

जसमा योगदानकर्ता विशेष सापटी योगदानकर्ताको योगदान रकमका आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।


कोषले घर सापटी सुविधाअन्तर्गत योगदानकर्तालाई ७५ लाख अथवा १५ वर्षको तलव र रकम बराबर सापटी दिने व्यवस्था गरिएको छ । योगदानकर्ताले धितोमा आधारित भएर योगदानकर्तालाई घर निर्माण गर्न, खरिद गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न उक्त रकम पाउनेछन् ।

त्यसैगरी कोषले संशोधन गरेको कार्यविधि अनुसार योगदानकर्ताले स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययनका लागि ३५ लाखसम्म सापटी लिन पाउने व्यवस्था गरिएको छ । धितोमा आधारित रहेर योगदानकर्ता आफैँ वा निजको पति वा पत्नी, छोरा, छोरीका लागि लागि स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययनका लागि सो सापटी लिन सक्नेछन् ।

उक्त कार्यविधि अनुसार सामाजिक कार्य सापटी शीर्षक अन्तर्गत योगदानकर्ताहरुलाई ५ लाखसम्म सापटी दिने व्यवस्था गरेको छ । तर सामाजिक कार्य सापटी अन्य कोषबाट स्वाप गर्ने प्रयोजनको लागि मात्र लागू हुनेछ ।