१५ बाणिज्य बैंकहरुको चुक्ता पूँजी १० अर्ब माथि पुग्यो

Dec Sun 2020 06:23:26

765 views

१५ बाणिज्य बैंकहरुको चुक्ता पूँजी १० अर्ब माथि पुग्यो

आर्थिक वर्ष २०७६ ०७७ को लाभांश घोषणापछि १५ वटा वाणिज्य बैंकहरुको चुक्ता पुँजी १० अर्ब नाघिसकेको छ । लाभांश घोषणा गर्न बाँकी रहेको राष्ट्रिय वाणिज्य बैंकको पुँजी पनि सोभन्दा माथि पुग्नसक्ने सम्भावना कायमै छ । बाँकी ११ बैंकमध्ये ९ बैंकको चुक्ता पुँजी ९ अर्बको श्रेणीमा छन् भने बाँकी ४ वटा बैंकको चुक्ता पुँजी ८ अर्बकै श्रेणीमा छन् ।

चालु आर्थिक वर्षको बोनस शेयरपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड पुगेको छ । यो २० अर्बभन्दा बढी चुक्तापुँजी भएको हालसम्मकै एकमात्र बैंक समेत हो । त्यस्तै, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम कमर्शियल बैंकको चुक्ता पुँजी १६ अर्ब भन्दा माथि पुगेको छ । 

त्यस्तै, मेगा बैंकको १४ अर्ब ४५ करोड, कुमारी बैंकको १३ अर्ब ८७ करोड, नबिल बैंकको १३ अर्ब ४८ करोड तथा नेपाल बैंकको १२ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ । एनआईशी एशिया र प्रभु बैंकको पुँजी पनि ११ अर्बभन्दा माथि पुगेको छ । एनआईशी एशियाको ११ अर्ब ५६ करोड र प्रभु बैंकको ११ अर्ब ३४ करोड चुक्ता पुँजी रहेको छ । यसबाहेक १० अर्ब पुँजी पुग्नेहरुमा सिद्धार्थ बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र एनसीसी बैंक रहेका छन् ।