एकैदिनमा ११४ अंकले शेयर बजारमा पहिरो किन गयो ?

Sep Mon 2021 10:51:49

575 views

एकैदिनमा ११४ अंकले शेयर बजारमा पहिरो किन गयो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन  सोमबार उच्च अंकले घटेको छ । लगातार तीन दिनको बन्दपछि खुलेको शेयर बजार सुरुवात देखिनै गिरावट देखिएको थियो । 

 नेप्से ११४.०२ अंकले घटेर दुई हजार ६ सय ९८ दशमलब २५ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ८ अर्ब ४९ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।           नेप्सेका अनुसार  कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.८० रुपैयाँमा पुगेको छ । 

त्यस्तै, १८१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । चार कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ४० करोड भन्दा बढीको कारोबार भएको छ ।      आम मानिसहरुको अपेक्षा थियो बजेट पारित भएपछि शेयर बजारमा फेरि सुधार आउनेछ । तर, अघिल्लो साता नै शुरु भएको गिरावटको क्रम रोकिनुको सट्टा निकै तिव्र गतिमा घट्नेक्रम देखिन्छ । 

केहि साताअघिसम्म लगाताररुपमा बढीरहेको बजारमा त्यसबेला खरिदकर्ता रहेका लगानीकर्ताहरुले अझ बढी नोक्सान बेहोर्नुपर्ने चिन्ताका कारण बजारबाट बाहिरिन खोज्दा यस्तो अवस्था आएको हो । त्यसैपनि अहिले बजारमा तरलताको अभाव छ । र, मानिसहरु प्रमुख चाडको लागि खर्चको जोहो गर्ने तयारीमा छन् । यसबाहेक असोज १ गतेदेखि लागू हुनेगरि सबैजसो वाणिज्य बैंकहरुले ब्याज बढाएका कारण पनि शेयर बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको हो । 

बजेट पास भएसँगै सरकारले खर्च गर्ने बाटो त खुलेको छ तर, आसन्न चाडपर्वका कारण तुरुन्तै सरकारी कोषबाट नगद बाहिरिने सम्भावना पनि कम छ भने आम मानिसहरु अहिलेको अवस्थामा शेयर बजारलाई पर्खने र हेर्ने अवस्थामा रहेका छन् । सरकारले पुर्णता लिन नसकेको लगायतका अन्य आधारभूत पक्षहरुले समेत शेयर बजारको लगानीमा उत्साह थपेको छैन । यसरी आधारभूतरुपमा पुँजीबजार नै सपोर्ट गर्ने कुनै पनि आधारहरु नबन्दा अझै केहि समय बजारमा गिरावटको क्रम जारी रहने अनुमान गरिदैछ ।