नागरिक एपबाट तपाईको सूचना चुहिने खतरा !

Jan Mon 2021 07:51:04

936 views

नागरिक एपबाट तपाईको सूचना चुहिने खतरा !

काठमाडौं । एकीकृत रूपमा सरकारी सेवा दिने उद्देश्यले सरकारले नागरिक एपको परीक्षण संस्करण शुरु गरेको जनाएको छ। अहिले विभिन्न नौवटा सेवाको विवरण लिन सकिने उक्त एपबाट प्यान नम्बरका लागि आवेदन दिन पनि सकिने सरकारी अधिकारीहरूले बताएका छन्।

सरकारी अधिकारीहरूका अनुसार सरकारी सेवा र विवरणका लागि लाइन बस्नुपर्ने हालको बाध्यतालाई अन्त्य गर्न उक्त एप ल्याइएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव अनिलकुमार दत्तका अनुसार अहिले परीक्षणका लागि उक्त एपको बीटा संस्करण मात्र सञ्चालनमा ल्याइएको छ। 

उक्त एपको परीक्षण संस्करणमा सुरक्षात्मक उपायहरू कमजोर देखिएको र त्यसले नागरिकका गोप्य सूचनाहरू चुहिन सक्ने खतरा भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

सरकारले आफ्ना सेवा एकीकृत रूपमा दिने भन्दै उक्त एप ल्याए पनि त्यसलाई नजिकबाट नियालिरहेका साइबर सुरक्षाविज्ञले त्यसमा भरपर्दो सुरक्षा उपायहरू नअपनाइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

त्यस्तैमध्येका एक साइबर सुरक्षाका जानकार विजय लिम्बु भन्छन्, नागरिक एपमा सेक्युरिटी फीचरहरू नभएका होइनन् तर मोबाइल एपमा हुनुपर्ने जुन खालको सुरक्षा मापदण्ड हो त्यसअनुसार यो बनेको देखिँदैन।

त्यस्तै यो एपले धेरैवटा सरकारी निकायका डिजिटल डेटालाई जोड भएकाले भोलि साइबर आक्रमणकारीका लागि धेरैवटा सरकारी निकायमाथि हमला गर्ने बाटो बन्न सक्ने चिन्ता छ।