थप तीन पुनर्बीमा कम्पनी ल्याउने तयारीमा

Jan Thu 2021 07:59:00

850 views

थप तीन पुनर्बीमा कम्पनी ल्याउने तयारीमा

नेपालमा थप तीन नयाँ पुनर्बीमा कम्पनी संचालनमा ल्याउने तयारी  भइरहेको छ । अन्नपुर्ण रि, प्रुडेन्सियल रि र अर्को नाम नखुलेको पुनर्बीमा कम्पनी संचालनमा ल्याउने तयारी भइरहेकाे हो ।

पहिलो पटक काठमाडौंको साकार ल फर्मले अन्नपुर्ण रि कम्पनी नामक कम्पनीको कार्ययोजना तयार पारेका थियाे। अन्नपुर्ण रिले लगानी प्रस्ताव गर्दै सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा पत्र पठाएको थियो । केहीले लगानीका लागि प्रतिवद्धता समेत जनाइसकेको साकार ल फर्मका संचालक तथा अधिवक्त विष्णुभक्त पोखरेलले मेरो लगानीलाई जानकारी गराए ।

लगानी प्रस्तावमा ७५ प्रतिशत संस्थापको र २५ प्रतिशत सर्वसाधारणको लगानी हुने गरी चुक्ता पूँजी १० अर्ब रुपैयाँको कम्पनी प्रस्ताव गरिएको छ ।

साकार ल फर्म स्रोतका अनुसार, अन्नपुर्ण रिमा उपेन्द्र महतो र उनका भाइ बीरेन्द्र महतोलगायत व्यक्तिहरुकाे लगानी रहने छ । महतो परिवारको बैंकमा ठूलो लगानी छ । बैंकपछि महतो परिवार बीमा तर्फ लगानी गर्न लागेका हुन् । उपेन्द्र महतो एनआरएनएका संस्थापक अध्यक्ष हुन भने उनका भाइ वीरेन्द्र पूर्व सांसद हुन् ।

यस्तै एनआरएनएकै पूर्व अध्यक्ष रहेका शेष घलेलगायतको लगानीमा अर्को नयाँ प्रुडेन्सियल रि इन्स्योरेन्स कम्पनी संचालनमा ल्याउने तयारी भएकाे छ । उक्त कम्पनीमा घलेलगायत अन्य एनआरएनहरुको समेत लगानी हुनेछ । यस्तै, विशाल ग्रुप सहित नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललगायत अन्य व्यवसायीको उक्त कम्पनीमा लगानी रहनेछ ।

प्रुडेन्सिय रिइन्स्योरेन्समा संस्थापक शेयरधनीको रुपमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेकाे छ ।

अर्को नाम नखुलेको रिइन्स्योरेन्स कम्पनी पनि स्थापनाको तयारी भइरहेको छ । त्यसमा शंकर ग्रुपका शाहिल अग्रवाल, अशोक खड्कालगायतको लगानी रहने स्रोतले जनाएकाे छ।