नेपाल लाइफको लाभांश र शेयर खण्डिकरण प्रस्ताव पारित

Feb Sat 2021 07:30:02

1389 views

नेपाल लाइफको लाभांश र शेयर खण्डिकरण प्रस्ताव पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्तावित ५१ प्रतिशत लाभांश र शेयर खण्डिकरणको प्रस्ताव पारित गरेको छ ।  २० औं वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीले उक्त प्रस्ताव पारित गरेको हो । यस कम्पनीले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिन लागेको हो ।

कम्पनीले हाल कायम प्रतिशेयर मूल्य रू. १०० लाई घटाएर रू. ५० कायम गर्ने प्रस्ताव सभाबाट पारित गरेको हो ।

 उक्त प्रस्ताव कार्यान्वयनको क्रममा नियामक निकायबाट स्वीकृति भएको कम्पनीको शेयरसंख्या दोब्बर हुनेछ । कम्पनीले पारित गरेको ३१ प्रतिशत बोनस शेयरपश्चात रू. ७ अर्ब १९ करोड चुक्तापूँजी पुग्नेछ । बोनस पश्चात कम्पनीको शेयर कित्ता ७ करोड १९ लाख कायम हुनेछ । शेयर खण्डिकरण प्रकृयाले पूर्णता पाए यो संख्या १४ करोड ३८ लाख हुनेछ । 

दोस्रो बजारमा सबै लगानीकर्ताको खरिद पहुँच पु¥याउने उदेश्यले शेयर खण्डिकरण गर्न लागेको कम्पनीले जानकारी दिएको छ । चुक्तापूँजी र बजार पूँजीकरणमा कुनै असर नपर्ने गरी कम्पनीले शेयर खण्डिकरण गर्न लागेको जानकारी दिएको हो । 

यस वर्ष बीमा कम्पनीहरुमध्यकै सर्वाधिक लाभांश पारित गरेको कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि माघ १४ देखि २८ गतेसम्म बुक कलोज गरेको छ । बुक क्लोजको आधारमा माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछ्न ।

सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्नुहुने संचालक निर्वाचनबाट  विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन ।

हाल यस कम्पनीको लगानी रु १०५.५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,६९,४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । 

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।