३० बैंक तथा वित्तीय संस्था बिग मर्जरको अन्तिम प्रक्रियामा

Mar Wed 2021 08:51:05

590 views

३० बैंक तथा वित्तीय संस्था बिग मर्जरको अन्तिम प्रक्रियामा

काठमाडौं । अहिले ३० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु एकीकरण प्रक्रियामा छन् । नेपाल राष्ट्र बैंकले लिएको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिसनको प्रक्रियामा रहेका हुन् ।

वाणिज्य बैंकमध्ये यतिबेला सिटिजन्स बैंक यो प्रक्रियामा छ । सिटिजन्स बैंकले तिनाउ मिसन तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सलाई आफूमा गाभ्ने प्रक्रिया अघि बढाउँदैछ । दुवै संस्थासँग बैंकले छुट्टाछुट्टै रुपमा समझदारी गरिसकेको छ । तिनाउ मिसन लुम्बिनी प्रदेशको विकास बैंक हो भने सिर्जना फाइनान्स प्रदेश १ को फाइनान्स कम्पनी हो । 

सिटिजन्स बैंकसँग मर्जरमा जान लागेको तिनाउ मिसन बाहेक विकास बैंक अन्तर्गत थप २ वटा विकास बैंक मर्जरको प्रक्रियामा छन् । गरिमा विकास बैंक र सहारा विकास बैंक एक आपसमा गाभिन लागेका हुन् । राष्ट्रिय स्तरको गरिमाले प्रदेश २ को सहारा विकास बैंकलाई गाभ्न ५ महिना अघि नै समझदारी भएको थियो । 

फाइनान्स कम्पनी अन्तर्गत सिटिजन्स बैंकसँग मर्जर हुन लागेको सिर्जना फाइनान्स बाहेक नेपाल फाइनान्स र ललितपुर फाइनान्स मर्जरको प्रक्रियामा छन् । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई गाभ्न लागेको हो । यसप्रकार ‘क’ ‘ख’ र ‘ग’ वर्गका विकास बैंकमध्ये यतिबेला ७ बैंक तथा वित्तीय संस्था मर्जर भएर ३ वटा बन्ने अवस्था छ । 

उता लघुवित्ततर्फ भने मर्जरको लहर तीव्र छ । अस्तित्वमा रहेका ७६ वित्तीय संस्थामध्ये अहिले २३ लघुवित्त संस्थाहरु मर्जरको प्रक्रियामा छन् । ती संस्था मिलेर ११ वटा वित्तीय संस्था बन्नेछन् । 

लघुवित्त संस्थामध्ये यतिबेला इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्दैछ । त्यस्तै, नेशनल माइक्रोफाइनान्सले महिला सहयात्री वित्तीय संस्थालाई पनि एक्वायर गर्ने समझदारी गरेको छ । 

आरम्भ चौतारी लघुवित्तले भने अहिले बीपीडब्ल्यु लघुवित्त र देउराली लघुवित्तलाई आफूमा गाभ्ने समझदारी गरेको छ । सीवाईसी लघुवित्त र शालिग्राम लघुवित्तसँगको मर्जर असफल भएपछि आरम्भ चौतारीले अरु २ संस्थालाई प्रक्रियामा सामेल गरेको हो । 

त्यस्तै, डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई आफूमा गाभ्दैछ भने स्वदेशी लघुवित्त र एनआईशी एशिया लघुवित्तबीच मर्जर हुँदैछ । मर्जरपश्चात् लघुवित्तको नाम स्वदेशी नै रहने उल्लेख गरिएको छ । 

त्यस्तै, समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच पनि मर्जर प्रक्रिया अघि बढ्दैछ । मर्जरपछि यो संस्थाको नाम स्वस्तिक लघुवित्त वित्तीय संस्था नै रहनेछ । उता समता र घरेलु लघुवित्तको मर्जरपछि भने दुवै संस्थाको अस्तित्व नमेटिनेगरी नामाकरण गर्ने सहमति भएको छ । दुई संस्था एक भएपछि समता घरेलु लघुवित्त संस्था नामबाट कारोबार हुनेछ । 

यसबाहेक मिर्मिरे लुघवित्त वित्तीय संस्थाले सिर्जनशील लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभ्दैछ । यसअघि मिर्मिरेले स्वेडा लघुवित्तलाई प्राप्ति गरिसेको छ । त्यस्तै, विजय लघुवित्तले खप्तड लघुवित्तलाई तथा ग्लोबल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्न समझदारी गरिसकेको छ ।