काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक हप्ता अत्यावश्यकबाहेकका सेवा बन्द

Apr Mon 2021 07:21:55

771 views

काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक हप्ता अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो ।

खाद्य सामग्री औषधी तथा स्वास्ग्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् । खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय भने सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

सार्वजनिक र निजी सवारी साधन वैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्म बन्द हुनेछ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।