बागलुङमा विवाहले फैलिएको कोरोना, २३ जनाको मृत्यु ७४७ जना भन्दा बढी संक्रमित

May Sat 2021 08:18:35

598 views

बागलुङमा विवाहले फैलिएको कोरोना, २३ जनाको मृत्यु ७४७ जना भन्दा बढी संक्रमित

गलकोट। बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ। एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो। अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन्।

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो।

वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो। संयोग या लेखान्त, त्यसको केही दिनमै कोरोना सङ्क्रमण पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृत्यु भयो। परिवारका अन्य सदस्य पनि सङ्क्रमित भएका छन्।

थप सहभागीको पिसिआर गर्दा ३१ जनाको स्वाब लिइएकोमा २५ जनामा सङ्क्रमण पुष्टि भयो। यसले सङ्क्रमण बढाउने कारण विवाह रहेको पुष्टिसमेत गर्दछ।

अन्ततः कोरोनाकै कारण बडिगाडका एकै परिवारका चार जनाको मृत्यु भएको छ। सङ्क्रमणबाट बाबाको मृत्यु भएको एक सातापछि दुई छोराको सङ्क्रमणकै कारण मृत्यु भएको हो। वैशाखको दोस्रो साता आयोजना गरिएको विवाह भोजका कारण नै यस्तो घटना भएको स्थानीयवासीसमेत बताउँछन्।

धौलागिरी अस्पतालमा उपचाररत बडिगाड–४ का ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भयो। मृतकका ८७ वर्षीय बुबाको यसअघि सोही अस्पतालमा वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो।

उनकै परिवारको अर्को ५२ वर्षीय छोराको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बिहीबार रातिनै मृत्यु भएको छ। यस्तै शनिबार परिवारकै सदस्य ५३ वर्षीया महिलाको समेत धौलागिरि अस्पतालमा मृत्यु भएको छ।

अधिकांश सङ्क्रमित भिडभाडमा गएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएका काराण बडिगाड–४ मा अत्यधिक मात्रामा सङ्क्रमण दर बढेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताए। यद्यपि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न गराउन स्थानीय प्रहरी प्रशासन सक्रिय थियो।

यस क्रममै लापरवाही गरेको भन्दै विवाहमा धेरै जन्ती लगेपछि बागलुङ नगरपालिका–८ सिगानाबाट वैशाख २२ गते बेहुलाका बुबासहित जिल्ला प्रहरी कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्रणमा लिएको थियो। सात जनामात्रै विवाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ तर दुलाहा पक्षले झण्डै ३०० जन्ती लगेको थियो।

त्यसपछि सिगानामा केही मानिसमा कोरोना भाइरसको लक्षण देखिएकाले स्वाब सङ्कलन गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा कोरोना देखिएको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए। सिगानामा शनिबार आएको रिपोर्टअनुसार २६ जनाको परीक्षणमा १५ जनामा सङ्क्रमण फैलिएको छ।

कोरोना बढ्नुको मुख्य कारण सामाजिक संस्कारजन्य कार्य भएकाले अब सबै सचेत र गम्भीर बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउँछन्।