अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्यो, ९ व्यक्ति मारिए

May Wed 2021 11:41:35

646 views

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्यो, ९ व्यक्ति मारिए

वासिंगटन डिसी । अमेरिकाको क्यालिफोर्नियास्थित सान होजे शहरमा भएको अन्धाधुन्ध गोली प्रहारमा ९ जनाको ज्यान गएको छ । 

भ्याली ट्रान्सपोर्टेशन अथोरिटी रेल यार्डमा भएको सो घटनामा अन्धाधुन्ध गोली चलाउने व्यक्ति सोही कार्यालयको कर्मचारी भएको बुझिएको छ। ५७ बर्षका स्यामुअल केसडी नाम गरेका ती आक्रमणकारी सो कार्यालयका मर्मरसम्भारतर्फका कर्मचारी हुन्।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार, रेल यार्डमा आएर गोली प्रहार गर्नुअघि उनले आफ्नै घरमा आगो लगाएका थिए। आफ्नो घरमा आगो लगाएर गाडी चढी कार्यालयतर्फ हिडेका उनले कार्यालय पुगेपछि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

आक्रमणकारी कसरी मारिए भन्ने अहिलेसम्म खुलेको छैन तर अरुलाई मारिसकेपछि उनी आफैंले आफूलाई मारेको हुनसक्ने बताइएको छ ।

सो घटनामा परी ज्यान गुमाएकाहरु आक्रमणकारीसंगै कार्यरत रहेका कर्मचारीहरु रहेको अनुमान गरिएको छ तर उनीहरुको विवरण सार्वजानिक भएको छैन । सञ्चारमाध्यमहरुले थप केही व्यक्तिहरु घाइते भएका र केहीको अवस्था गम्भीर रहेको पनि उल्लेख गरेका छन्।