मौद्रिक नीतिमार्फत् सेयर बजारमा थप कडाइ गर्दै राष्ट्र बैंक

Jun Sun 2021 11:35:32

696 views

मौद्रिक नीतिमार्फत् सेयर बजारमा थप कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारमा थप कडाइ गर्ने तयारी थालेको छ । आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा जाने रकमलाई थप कडाइ गर्ने भइरहेको स्रोतले जानकारी दियो ।

राष्ट्र बैंकको कडाइका बाबजुत नेप्से सूचक र कारोबार रकम दुबै लगातार बढिरहेको छ । आज अर्थात् आइतबार मात्रै नेप्से उच्च अंक २९१९.१० अंकसम्म पुग्यो भने १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत सेयरधितो कर्जामा थप कडाई गरेको थियो । १२० दिनको औसत मूल्य र अहिलेको सेयर मूल्यमा जुन कम हुन्छ त्यसको ७० प्रतिशत सेयर धितो कर्जामा ऋण दिने व्यवस्था थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत १२० दिनलाई बढाएर १८० दिन पुर्याएको थियो । यसो गर्दा सेयर धितोमा जाने कर्जा ८ देखि १० प्रतिशतले कमी हुन आउँछ ।

त्यसैगरी, राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई लुवित्त कम्पनीको सेयर किन्न रोक लगाएको थियो । त्यस्तै, दोस्रो बजारमा अल्पकालीन अर्थात् १ वर्षभन्दा कम समयका लागि लगानी गर्न नपाइने व्यवस्था गर्यो ।

बजेटले १ वर्षभन्दा कमको लगानीलाई अल्पकालीन लगानी भएको व्यख्या गर्दै सेयर किनेको १ वर्षभित्र बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर लिने र किनेको १ वर्षभन्दा बढी समयपछि बिक्री गर्नेलाई ५ प्रतिशत मात्रै लाभकर लिने व्यवस्था गरेको छ । तैपनि सेयर बजार झनझन् चम्किरहेको छ ।

बैंक तथा वित्तीय संस्था र केही ठूला खेलाडीले सेयर बजारलाई अस्वाभाविकरुपमा निरन्तर बढाउन थालेपछि कडाइ गर्नुपरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।