सामाजिक सुरक्षा कोष बिरुद्ध बैंकका कर्मचारीहरु सडक आन्दोलनमा किन उत्रिए ?

Jul Thu 2021 02:19:14

1330 views

सामाजिक सुरक्षा कोष बिरुद्ध बैंकका कर्मचारीहरु सडक आन्दोलनमा किन उत्रिए ?

भरतराज उप्रेती (ICT Journalist)

काठमाडौं । सामाजिक सुरक्षा कोषले असारभित्रै आवद्ध हुन दबाब दिएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आन्दोलन शुरु गरेका छन् ।

आफूहरुको खाईपाई आएको सुविधा घट्ने गरी जबर्जस्ती कोषमा आवद्ध गराउन खोजेको भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कालो ब्यानर टाँगेर विरोध जनाएका हुन् ।

असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका हुन् । उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा आफ्नो बैंकको अगाडि बिरोधको कार्यक्रम गरेका छन् । माछपुच्छ्रे बैंक, नेपाल बंगलादेश ९एनबी० बैंक, नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा विरोध व्यानर राखेर आन्दोलन शुरु भएको छ ।

वित्तीय क्षेत्रका कर्मचारीले आफूहरुलाई जबर्जस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन खोजे कडा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने चेतावनी समेत दिएका छन् । उनीहरुका अनुसार आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूल धन डुब्ने छ ।

कोषको विनियावलीमा रहेको पेन्सन गणना विधि र ६० वर्षपछि मात्र कोषको रकम झिक्न पाइने व्यवस्था बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले धेरै चित्त नबुझाएका बुँदाहरु हुन् । समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउने र कोषका विरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको हिमालयन बैंक कर्मचारी युनियनका अध्यक्ष गौतम भण्डारीले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषसँग पटक–पटक वार्ता गर्दा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन नै गर्नु परेको वित्तीय संस्था कर्मचारी संघका उपाध्यक्ष पर्शुराम खनालले बताए ।

‘हामीले पहिलो चरणको आन्दोलन अनुसार संस्थामा कालो व्यानर राख्ने कुरा भएको छ, त्यसपछि कालो पट्टी बाँधेर सेवा दिने र त्यसपछि पनि हाम्रा मागहरु सुनुवाई नभए सेवा नै अवरुद्द गर्ने तयारी गरेका छौं,’ उनले भने ।

यता सामाजिक सुरक्षा कोषले भने बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोषमा आवद्ध हुन निर्देशन दिइरहेको छ । यसअघि नै नेपाल वित्तीय संस्था कर्मचारी संघले विभिन्न २९ वटा बैंक तथा वित्तीय संस्थाका ट्रेड युनियनले सयुंक्त विज्ञप्ति निकालिसकेको छ ।