नेप्सेमा ३४ कम्पनीको सेयर कारोबार रोक्का, १४८ वटा कम्पनीलाई सूचीबाटै हटाइयो किन ?

Sep Thu 2021 07:13:04

804 views

नेप्सेमा ३४ कम्पनीको सेयर कारोबार रोक्का,  १४८ वटा कम्पनीलाई सूचीबाटै हटाइयो किन ?

काठमाडौं । दोश्रो बजारमा हाल ३४ कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीमध्ये हाल ३४ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरु हाल १३ वटा समूहमा विभाजित भएका छन् । जसमध्ये नेप्सले वाणिज्य बैंक, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स, होटल एण्ड पर्यटन, ट्रेडिङ्ग, उत्पादनमूलक र अन्य समूह अन्तर्गतका केही कम्पनीको सेयर कारोबार रोक्का गराएको छ ।

वाणिज्य बैंक अन्तर्गतका दुई कम्पनी नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको २०७८ बैशाख ३१ गतेदेखि सेयर कारोबार रोकिएको छ । 

विकास बैंक अन्तर्गतको सहारा विकास बैंकको पनि सेयर कारोबार रोक्का भएको छ । संस्थाको २०७७ असोज १८ गतेदेखि सेयर कारोबार रोकिएको छ । सहारालाई गरिमा विकास बैंकले एक्वायर गर्ने भएसँगै नेप्सेले सो दिनदेखि सहाराको सेयर कारोबार रोक्का गरिदिएको हो ।

त्यस्तै, फाइनान्स समूहका ६ कम्पनीका सेयर कारोबार रोकिएका छन् । जसमध्ये नेपाल सेयर मार्केटस्, सम्झना फाइनान्स कम्पनी, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, क्रिष्टल फाइनान्स र हिमालयन फाइनान्स (वित्तीय संस्था) को सेयर कारोबार रोक्का भएको छ ।

त्यस्तै, सिर्जना फाइनान्स (वित्तीय संस्था)को भने सिटिजन्स बैंकले एक्वायर गरेसँगै सेयर कारोबार रोक्का भएको हो ।

त्यस्तै, नेप्सेका अनुसार विकास बैंक समूहको एक मात्र कम्पनी सहारा विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।

त्यसैगरी, हाल नेप्सेमा सूचीकृत विभिन्न ८ वटा लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले सूर्योदय, नेपाल सेवा, नाडेप, नेपाल एग्रो, आँधीखोला, घोडीघोडा, समाज लघुवित्त र वोमी माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गरिदिएको छ ।

जसमध्ये वोमी माइक्रोफाइनान्स र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुँदै छन् । नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएसँगै नेपाल सेवाको सेयर कारोबार रोकिएको हो ।त्यस्तै, नाडेप लघुवित्त डिप्रोक्स लघुवित्तमा विलयभएसँगै सेयर कारोबार रोकिएको हो ।

त्यसैगरी, नेपाल एग्रोलाई इन्फिनिटी लघुवित्तले प्राप्ति गर्ने भएसँगै संस्थाको सेयर कारोबार रोक्का भएको हो ।

धौलागिरी लघुवित्तले आँधीखोला लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेसँगै आँधीखोला लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । मर्जर पश्चात धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुँदै आएको छ ।

समाज लघुवित्त स्वस्तीक लघुवित्तसँग मर्जमा जाने भएसँगै नेप्सेले समाज लघुवित्तको सेयर कारोबार रोकिदिएको हो । समाज लघुवित्तले आईपीओ सूचीकृत नगर्दै स्वस्तिकसँग मर्जमा जाने निर्णय गरेको थियो । यी दुई संस्थाबीच २०७७ असोज ५ गते मर्जमा जार्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

त्यस्तै, घोडाघोडी लघुवित्त युनिक नेपाल लघुवित्तसँग मर्जमा जाने भएसँगै संस्थाको २०७७ कात्तिक २३ गतेदेखि सेयर कारोबार रोकिएको हो ।

होटल समूह अन्तर्गतको याक एण्ड यतीको पनि सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले यो होटलले नविकरण शुल्क नबुझाएको भन्दै सेयर कारोबार रोक्का गरिदिएको हो ।

अन्य समूह अन्तर्गतको नेपाल फिल्म डेभलपमेन्ट कम्पनी, ट्रेडिङ्ग समूह अन्तर्गतको दुई कम्पनी नेपाल ट्रेडिङ्ग र नेपाल वेलफेयर कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

साथै, उत्पादनमूलक अन्तर्गतका १३ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूचीकृत भएका नेपाल वनस्पति घि उद्योग, रघुपति जुट मिल्स, बुटवल स्पिनिङ्ग मिल्स, गोरखखाली रबर उद्योग, ज्योति साइनिङ्ग मिल्स, अरुण वनस्पति उद्योग, हरिशिद्धि ब्रिक एण्ड टाइल्स, विराट शु, नेपाल खाद्य्य उद्योग, श्री भृकुटी पल्प एण्ड पेपर, फ्लेर हिमालयन, श्रीराम सुगर मिल्स र नेपाल बिटुमिन एण्ड, ब्यारेल उद्योगको सेयर कारोबार रोक्का भएको छ ।

त्यसैगरी, नेप्सले हालसम्ममा कूल १४८ वटा कम्पनीलाई सूचीकरणबाट हटाइसकेको छ ।  जसमध्ये वाणिज्य बैंक अन्तर्गतका ५, विकास बैंकका ७९, फाइनान्सका ५४, माइक्रोफाइनान्सका ५, उत्पादनमूलकका ३, अन्य र ट्रेडिङ्गका समूहका १/१ वटाको गरी कूल १४८ कम्पनी डिलिस्टेड भएका छन् ।